Logo

पोखरीमा डुबेर ओखलढुंगामा २९ बाँदर मरे



आज पनि ओखलढुंगामा पोखरीमा डुबेर ७ वटा बाँदर मरेका छन् । स्थानीयका अनुसार जिल्लाको सिद्धिचरण नगरपालिका-५ सानीटारमा शनिबार थप ७ वटा बाँदर मरेका हुन् ।

शुक्रबार पनि सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए । शुक्रबार डुबेकामध्ये १२ वटालाई भने स्थानीयले जीवितै उद्दार गरेका थिए । तर, आज शनिबार पनि थप सात वटा मरेका स्थानीयले बताए ।

योसंगै दुई दिनको अवधिमा पोखरीमा डुबेर २९ वटा बाँदर मरेका छन् । स्थानीय देवकुमार दाहालका अनुसार बाँदर दैनिक पानीमा डुवेर मर्न थालेपछि पोखरीको पानी खोलेर खाली गरिएको छ ।

सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले पानी खाने गरेका थिए । पानी पिउने क्रममा बाँदरका बच्चा पोखरीमा खसेको र उद्दारका लागि अरु बाँदरसमेत पसेकाले निस्कन नसकेर मरेको हुनसक्ने वन डिभिजन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठको अनुमान छ ।

बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत समेत गरिएको छ । शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थलमा पुगेको छ ।

नियमित पानी खान आउने बाँदर पोखरीमा पसेपछि निस्कन नसकेको आँकलन गर्दैै पोखरीमा काठको भ¥याङ समेत राखिएको छ । पोखरीमा पानी खान आउन बाँदरलाई सहजताका लागि भ¥याङ निर्माण गरिएको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ ।

 

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ५ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।