Logo

अनलाइनपाना खोज

स्थानीय तहमा भ्रष्टाचार : गोलञ्जोर गापा अध्यक्ष र उपाध्यक्षले लिन्छन् कानूनले तोकेभन्दा बढी भत्ता

कोभिड बैठक र गिट्टी बालुवाको काम शीर्षकमा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले बुझे भत्ता



सिन्धुली । गोलञ्जोर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले कानूनले निर्धारण गरेभन्दा बढी भत्ता लिएको पाइएको छ । प्राप्त विवरणअनुसार गाउँपालिका अध्यक्षले दैनिक भ्रमण भत्ता बापत दुई हजारका दरले लिएको र उपाध्यक्षले दैनिक भ्रमण भत्ता वापत १६ सयका दरले लिएको बील अनलाइनपानालाई उपलब्ध भएको छ ।

स्थानीय तहका पदाधिकारीले पाउने सुविधाका सम्बन्धमा बनेको ऐनका अनुसार गाउँपालिका अध्यक्षले दैनिक १६ सय रुपैयाँ मात्रै भत्ता लिन पाइने व्यवस्था रहेको छ । त्यस्तै गाउँपालिका उपाध्यक्षले दैनिका १५ सय रुपैयाँ मात्रै भत्ता लिन पाउने व्यवस्था रहेको छ । तर गोलञ्जोर गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ऐनले तोकेभन्दा बढी भत्ताको भुक्तानी लिएको पाइएको छ ।

गोलञ्जोर गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा गाडी डेकोरेसन र इन्धनमै भ्रष्टाचार

गाउँपालिका अध्यक्षले दैनिक भ्रमण भत्तामा दुइ हजार लिएकाे र उपाध्यक्षले १६ सय लिएको प्रष्ट देखिन्छ । स्थानीय सरकार संचालन ऐनको दफा ३, ४, ५ र ६ सँग सम्बन्धित अनुसूची १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा अन्य सदस्यहरुले पाउने सेवा सुविधा प्रष्ट रुपमा किटान गरिएको छ ।

कानूनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले लिन पाउने भत्ताकाे सुविधा

उपलब्ध बीलअनुसार आफूहरुले भत्ता नलिएको बताउने गाउँपालिकाका अध्यक्ष शंकर बरालले अन्य राजनीतिक दलका मान्छेले प्रतिशोध साँधेको बताए । उनले आफू एक्लै फरक पार्टीबाट जितेकोले कांग्रेसमा आवद्व वडा अध्यक्षले राजनीतिक प्रतिवाद गरेको बताए ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिरुद्व नीतिगत भ्रष्टाचारको आरोप

उता सार्वजनिक लेखा समिति गोलञ्जोर गाउँपालिका संयोजक समेत रहेका गोलञ्जोर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दौलत कार्कीले भने बढी भत्ता लिएको, गाउँपालिकाको पैसा जथाभावी दुरुपयोग गरेकाले आफूले पटक पटक प्रश्न उठाएको बताए । उनले पटक पटक प्रश्न उठाउँदा पनि गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष नसच्चिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको बताए ।

ढुंगा गिट्टीको काम गरेको विषयमा समेत भ्रमण भत्ता

गाउँपालिका उपाध्यक्षले ढुंगा गिट्टी बालुवा तथा अन्य कामको भ्रमण उदेश्य बनाएर पनि भत्ता लिएको पाइएको छ । गएकाे भदौं १ गते ग्वाल्टारबाट सिन्धुलीको भ्रमण गरेको देखाएर ढुंगा, गिट्टी बालुवा तथा अन्य काम भन्दै एक दिनको १६ सय भ्रमण भत्ता गोलञ्जोर गाउँपालिका उपाध्यक्षले लिएको देखिन्छ ।

माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकार आफैँमा बालुवा तथा गिट्टीका काम गर्ने व्यक्ति होइनन् । तर उनले बालुवा गिट्टीको काम भन्दै ग्वाल्टारबाट सिन्धुली गएको शिर्षकमा एक दिनको १६ सय भत्ता लिएको देखिन्छ । भदौं २ र ३ गते पनि सिन्धुलीबाट सिन्धुली गएको शिर्षकमा ३२ सय भत्ता बुझेका छन् । गाउँपालिका अध्यक्षले पनि उही शिर्षकमा भत्ता बुझेका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष शंकर बरालले भदौ ७ गतेदेखि ११ गतेसम्म जिल्ला तथा अन्य बैठकको शिर्षकमा ६ दिनको १२ हजार भत्ता बुझेका छन् । गएको मंसिर २२ गतेदेखि २७ गतेसम्म १२ हजारको भत्ता शिर्षकमा बरालले पैसा बुझेको बीलमा प्रष्ट देखिन्छ । त्यस्तै गएको कार्तिक ९ देखि १२ गतेसम्म गाउँपालिका अध्यक्ष बरालले गिट्टी बालुवाको काम भनेर दैनिक २ हजारका दरले ८ हजार भत्ता लिएको देखिन्छ ।

कोभिड बैठक शिर्षकमा समेत दैनिक २ हजार बैठक भत्ता

महामारीले थलिएको बेला गाउँपालिकाबाट कोभिड बैठक शिर्षकमा समेत ऐनले दिएको भन्दा बढी भत्ता लिइएको पाइएको छ ।

भदौ २४ गतेदेखि २८ गतेसम्म कोभिड बैठक भत्ता भनेर १० हजार रुपैयाँ गाउँपालिका अध्यक्ष बरालले लिएका छन् । गएको मंसिर २८ गतेदेखि पुस २ गतेसम्म दैनिक २ हजारका दरले गाउँपालिका अध्यक्षले भत्ता लिएको पाइएको छ ।


गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले पनि गत भदौ ८ देखि ११ गतेसम्म दिनको १६ सयका दरले भत्ता बुझेका छन् । त्यस्तै उनले मंसिर १४ गतेदेखि १८ गतेसम्म १६ सयकै दरले भत्ता बुझेका छन् ।

भत्ता लिएको बील सार्वजनिक हुनुभन्दा केही अघि अनलाइनपानालाई गाउँपालिका उपाध्यक्ष न्यौपानेले भत्ता लिएको विषयमा ‘बर्षभरिमा आफूले तीन चारवटा कार्यक्रममा गएको ३० देखि ४० हजारसम्म खाएको छ कि’ भनेर प्रतिवाद गरेका थिए । उनले आफूहरुले प्रश्न उठाइएअनुसारको भत्ता नलिएको जिकिर गरका थिए । यस विषयमा बुझ्न खोज्दा फोन सम्पर्कमा उनको आवाज प्रष्ट आएन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७५ को दफा ३ मा पदाधिकारीको सुविधाबारे स्पष्ट किटान गरिएको छ । पदाधिकारीको सुविधाबारे लेखिएको छ, ‘पदाधिकारीले आफू निर्वाचित भई अनुसूची–२ बमोजिम पद तथा गोपनीयताको शपथ लिई आफ्नो पदको काम कारवाही शुरु गरेको मितिदेखि अनुसूची—१ बमोजिमको रकममा नबढ्ने गरी स्थानीय तहको आन्तरिक स्रोत समेतको आधारमा मासिक पारिश्रमिक सुविधा पाउनेछन्।’

स्थानीय तह सञ्चालन ऐन २०७५ को दफा ६ मा स्थानीय तहका पदाधिकारीको दैनिक भत्ताबारे स्पष्ट किटान गरिएको छ । स्थानीय तह सञ्चालन ऐन २०७५ को दफा ६ काे उपदफा १ मा लेखिएको छ, ‘पदाधिकारी, सदस्य तथा सभाका सदस्यले कार्यालय कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्दा स्थानीय तहको आन्तरिक स्रोत समेतको आधारमा अनुसूची—१ बमोजिमको दरमा नबढ्ने गरी दैनिक भ्रमण भत्ता पाउनेछन्।’

स्थानीय तह सञ्चालन ऐन २०७५ को उपदफा ३ मा लेखिएको छ, ‘पदाधिकारी, सदस्य तथा सभाका सदस्यले उपदफा (१) बमोजिम भ्रमण गर्दा भ्रमण अवधिको लागि अनुसूची–१ बमोजिमको रकमको दुर्घटना विमा गर्दा लाग्ने विमाशुल्क वापत बिल बमोजिमको रकम पाउनेछन्।’

त्यस्तै दफा ६ को उपदफा ४ मा लेखिएको छ, ‘पदाधिकारी तथा सदस्यहरुको भ्रमण सम्बन्धी अन्य ब्यबस्था तोकिए बमोजिम हुनेछ ।’

प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार  १० : ४५ बजे

2.394k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।