काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि खरिद गरिएको गाडीको मर्मत सम्भार तथा इन्धनमै भ्रष्टाचार गरेको पाइएको छ। गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका लागि खरिद गरेको गाडीमा नयाँ सिट बेल्टलगायत डेकोरेसनका समान राख्न लगाएर बढी बील बनाइएको पाइएको छ। गएकाे चैतकाे पहिलाे हप्ता गाउँपालिकाले दुईवटा गाडी खरिद गरेकाे थियाे ।
याे पनि पढ्नुहाेस् : स्थानीय तहमा भ्रष्टाचार : गोलञ्जोर गापा अध्यक्ष र उपाध्यक्षले लिन्छन् कानूनले तोकेभन्दा बढी भत्ता
गाडी खरिदपछि गाडीमा सजावटका समान राख्न एउटा गाडीमा २ लाख ५७ हजार र अर्काेमा दुई लाख १७ हजारको बील पेश भएको छ। गाउँपालिकाबाट उक्त रकमको निकासा गर्न कर्मचारीलाई गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले दबाब दिएको अनलाइन पानालाई जानकारी प्राप्त भएको छ । त्यस विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष शंकरराज बरालले फोन उठाएनन् । गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भने बढी बील आएको स्वीकार गरे । तर बढी बील आए पनि बील बराबरको रकम निकासा गर्न आफूहरु तयार नरहेको भन्दै बचाउ गरे ।
उनले भने, ‘यी सबै विषयमा भ्रष्टाचार गरेको भन्ने कुरा हावा हो । तपाईँले यहीँ आएर हेर्न सक्नुहुनेछ । गाडीको समान राख्ने विषयमा आएको बील अलि बढी छ । ती समान पछि राख्ने भनेर अहिले नै बील पठाइएको रहेछ । हामीले कहाँ त्यत्रो बीलको पैसा दिन्छौं त ? हामीले जति लागेको हो त्यतिको बील बराबरको पैसा दिने भनेका छौं ।’
गाउँपालिकाले गएकाे चैतकाे पहिलाे साता फूटन टुनल्याण्ड (FOTON TUNLAND) का दुईवटा गाडी खरिद गरेको छ। खरिदपछि गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले डेकोरेशनको लागि फेरि खर्च गरेको देखिन्छ । डेकोरेशनमै दुईवटा गाडीका लागि साँढे चार लाखभन्दा बढी रुपैयाँ खर्च भएको बील गाउँपालिकामा आएपछि सार्वजनिक लेखा समिति संयोजकले आपत्ति जनाएको देखिन्छ ।
गोलञ्जोर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षसमेत रहेका लेखा समिति संयोजक दौलत कार्कीले भने अनावश्यक बील ल्याएर गाउँपालिकामा कर्मचारीहरुलाई अध्यक्ष र उपाध्यक्षले दबाब दिएर विवाद गरेको बताए । उनले गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले नै नीतिगत भ्रष्ट्राचार गरेको आरोप लगाए ।
७५ लिटर इन्धन क्षमता भएको गाडीमा ८० लिटर इन्धनको बील
गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले ७५ लिटर इन्धन क्षमता भएको गाडीमा एक पटकमै ८० लिटर इन्धन हालेको बील समेत पेश गरेर पैसा लिने गरेको पाइएको छ ।
अनलाइन पानालाई प्राप्त विवरणअनुसार गएकाे चैत ७ गते एक गाडीमा ८० लिटर इन्धन हालेको बील पेश गरेकाे खुलेकाे छ । त्यस्तै गाडी मर्मत गर्दा आवश्यकताभन्दा बढीको बील बनाएर पेश गर्ने गरेको खुलेको छ ।
याे पनि पढ्नुहाेस्
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिरुद्व नीतिगत भ्रष्टाचारको आरोप
प्रतिक्रिया