Logo

अर्थ

इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला



काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गरेको छ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोटका लागि आवेदन खुलाइएको विभागले जनाएको छ ।

जसमा पहिलो चरणमा १ हजार जनालाई यथाशीघ्र रोजगार प्रक्रियामा समावेश गरिने विभागले जनाएको छ । बाँकी १ हजार ३०० पहिलो चरणको प्रक्रिया पूरा भएपछि पीआईबीएको आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गरिनेछ ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कोटा छुट्याइएको छ । छनोट भएका कामदारले इजरायलमा मासिक ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँ) बराबर तलब पाउने उल्लेख छ । यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबाससम्बन्धी सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।

सूचनाअनुसार करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ । आवेदन दिन चाहने नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदक कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल पुगेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ ।

विभागका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदन फाराम विभागको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा उपलब्ध छ । आवेदन दिने अन्तिम समय २०८३ असार १७ गते बेलुका ५ बजेसम्म तोकिएको छ ।

अंग्रेजी भाषा दक्षता प्रमाणपत्र, प्रहरी रिपोर्ट, स्वास्थ्य अवस्थासम्बन्धी कागजात तथा स्वघोषणा पत्रसमेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

छनोट प्रक्रिया गोलाप्रथा प्रणालीमार्फत हुने सूचनामा उल्लेख छ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारको नामावली इजरायली पक्षलाई पठाइने र अन्तिम छनोटपछि मात्रै रोजगारी प्रक्रियामा सहभागी गराइने विभागले स्पष्ट पारेको छ ।

इजरायल जानुपर्ने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी, भाषा परीक्षा शुल्कलगायत शीर्षकमा निश्चित खर्च व्यहोर्नुपर्नेछ । विभागले तोकेको विवरणअनुसार विभिन्न शुल्क र प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिक इजरायल जान पाउनेछन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १२:३३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।