लहरो तान्दा पहरो हल्लिनु कुनै पनि शासन व्यवस्थाका लागि कमजोर पक्ष हो । यतिबेला नेपाली शासन प्रणाली त्यस्तै देखिएको छ । एक जना व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजा ल्याउँछु भन्दै सडकमा मानिस उतार्दा वर्तमान सरकार थर्कमान जस्तै देखिएको छ ।
कुरा गरौं राजतन्त्रको । नेपाली राजनीतिमा राजतन्त्रको इतिहास लामै छ। गोपाल वंश, महिषपाल वंश हुँदै किराँत राजाहरूले नै करिब ८ सय वर्ष शासन गरेको इतिहास लिपिवद्ध भएका पाइन्छ। लिच्छवी, ठकुरी, मल्लकाल हुँदै शाह वंशले मात्र नेपाल अधिराज्यमा २४० वर्ष शासन गरेका थिए ।
शाहहरूले वि.सं १८२५ देखि २०६५ सालसम्म नेपालमा शासनसत्ता चलाए । तर, वि.सं. १८४६ देखि १९५१ सम्म (१०४ वर्ष) नेपालमा शाह वंशलाई नाम मात्रको शासक बनाइ राणाहरूले निरंकुश शासन चलाए ।
तत्कालीन राजा वीरेन्द्रले जनताको हातमा सुम्पेको अधिकारलाई हत्याउने दुस्साहस ज्ञानेन्द्रबाट भएपछि राजतन्त्रको औपचारिक अन्त्य भएको थियो। २०६५ जेठ १५ मा बसेको सो बैठकले २४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गर्यो। दोस्रो संविधानसभाबाट २०७२ असोज ३ मा जारी संविधानले गणतन्त्रलाई संस्थागत गर्यो।
संसद्को दोस्रो ठूलो गणतन्त्रवादी शक्तिले गरेको प्रदर्शनमा भन्दा गणतन्त्रविरोधी प्रदर्शनमा ठूलो भीड लाग्नू र त्यस्ता आन्दोलन निरन्तर चलिरहनू अरु केही नभएर वर्तमान व्यवस्था सञ्चालकहरूको असफलताको द्योतक नै हो।
यसरी लामो इतिहास बोकेको राजतन्त्र सधैँका लागि बिदाइ गरिएको आज डेढ दशकभन्दा बढी बितिसकेको छ। बिदा गरिएको राजसंस्था फेरि चाहियो भनेर डेढ दशकपछि आवाज उठ्न थालेको छ। यो लोकतान्त्रीक गणतन्त्रका लागि पक्कै पनि सुखद् पाटो होइन।
वर्तमान सत्ताप्रतिको चरम असन्तुष्टि हो। पुरानो सत्ता र शासन व्यवस्था मुलुक अनुकूल भएन भन्दै जनताले फालेका थिए। तर, नयाँ शासन व्यवस्था पुरानो शासन व्यवस्था भन्दा पनि कमजोर बन्दा फालिएको शासन र शासकका पक्षमा सडकमा नारा घन्किन थालेको छ।
सडकमा उत्रिएका आन्दोलनकारीले भनिरहेका छन्,‘एउटा राजा हटाएर धेरै राजा भए, हामीलाई एउटा राजा भए पुग्छ।’
पछिल्लो समय राजतन्त्र चाहियो भन्नेहरू बढ्दै गएको कुरामा कुनै शंका छैन।
यही मंसिर ७ गते गणतन्त्रको खिलापमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बटुलेका भीडले नै त्यसलाई पुष्टि गरेको छ। राजतन्त्रको लामो इतिहास बोकेको नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भने डेढ दशकमै किन ढलमलाउँदै छ?
मंसिर ७ मै गणतन्त्रवादी भन्ने एमालेले सम्पूर्ण शक्ति खर्चेर गरेको प्रदर्शनमा भन्दा मामुली एउटा गणतन्त्रविरोधी अभियान्ता प्रसाईंको भेलामा धेरै मानिस जम्मा भए। जसबाट लोकतन्त्रका हिमायतीहरूले सुशासन र समृद्धि दिन नसकेको, उनीहरूका काम गर्ने तौरतरिका ठिक नभएको, भ्रष्टाचार, स्वार्थ, नातावाद र कृपावादमा शासकहरू लिप्त रहेको स्पष्ट हुन्छ।
अझ गणतन्त्रवादीले गरेको प्रदर्शन एकै दिन सकियो। तर, आइतबार चौथो दिनसम्म पनि गणतन्त्रविरोधी अभियान्त प्रसाईं पक्षको आन्दोलन जारी छ। काठमाडौं उपत्यकामा आइतबार कलंकी, रत्नपार्क र बालाजुमा आन्दोलन भयो। यसका साथै कतिपय जिल्ला-जिल्लामा राजाको पक्षमा आन्दोलन जारी छ।
संसद्को दोस्रो ठूलो गणतन्त्रवादी शक्तिले गरेको प्रदर्शनमा भन्दा गणतन्त्रविरोधी प्रदर्शनमा ठूलो भीड लाग्नू र त्यस्ता आन्दोलन निरन्तर चलिरहनू अरु केही नभएर वर्तमान व्यवस्था सञ्चालकहरूको असफलताको द्योतक नै हो।
सुन्दर लोकतन्त्रको डेलिभरी अपेक्षा गरिहरहेका नागरिकले सयौं राजा र हजारौं छोटे राजाहरूबाट भ्रष्टाचार, चलखेल र कुशासन मात्र पाएपछि व्यवस्थाप्रति नै क्रूर हुनु बेठिक होर ?
हुन पनि लोकतन्त्र/गणतन्त्रका लागि अनेकन संघर्ष गरेको, ज्यानको बाजी थापेको, जेलनेल भोगेको भन्नेहरू सबै अहिले दलतन्त्रमा रमाइरहेका छन्। भाषा र भाषणमा लोकतन्त्र अनि व्यवहारमा दलतन्त्र र परिवारतन्त्रमा रमाउने अहिलेसका शासकरूसँग जनता पटक्कै सन्तुष्ट छैनन्। अझ उनीहरू नै भन्छन्– हामी शासक होइनौं, सेवक हौं। वास्तवमा यिनीहरू के/काे हुन् छुट्याउने जिम्मा जनतालाई नै छाडिदिउँ ।
लोकतन्त्र ल्याउन मुख्य भूमिका खेलेका भनिएका प्रमुख तथा पुराना दलहरूले अहिलेकै अवस्था ठिकै छ भन्ने भाष्य निर्माणमा जोड दिँदै आएका छन्। तर, लोकतन्त्रको मर्म र सिद्धान्त बुझेका नजताले वास्तविक लोकतन्त्रको डेलिभरी पाउन सकेका छैनन्। यस्तो अवस्थामा ती दलतन्त्र र परिवारतन्त्रमा रमाउने शासकलाई पाखा लगाउनुपर्छ भन्ने मान्यता राखेर हुने प्रदर्शनमा भीडभाड बढ्नु पनि कुनै आश्चर्यको विषय होइन।
सुन्दर लोकतन्त्रको डेलिभरी अपेक्षा गरिहरहेका नागरिकले सयौं राजा र हजारौं छोटे राजाहरूबाट भ्रष्टाचार, चलखेल र कुशासन मात्र पाएपछि व्यवस्थाप्रति नै क्रूर हुनु बेठिक होर ?
अब लोकतन्त्र र गणतन्त्रका नाममा दलतन्त्र लाद्ने अहिलेका शासकहरूका लागि सुध्रिने समय करिब चार वर्ष छ। ‘नसुध्रिए सकिन्छौ’ भन्ने सन्देश गत वर्ष सम्पन्न तीन तहका निर्वाचनले दिइसकेको छ। यो बीचमा नसुध्रिए एक बालेन र एक हर्क होइन, सायौं बालेन र सायौं हर्क जन्मनेछन्।
अझै पनि जनतालाई सोझा र अज्ञानी सम्झनु अहिलेका शासकहरूको महा मूर्खता हुनेछ। लोकतन्त्रको पाठ आफैले पढाएर जबरजस्त दल र दलालतन्त्र लाद्न खोज्दा त्यसलाई स्वीकार्न जनता कहाँ तयार हुन्छन् र !
















प्रतिक्रिया