Logo

राजनीति

जसपाबाट मन्त्री बनेका अनिल झाले भने – हामीले रेशम रिहाइ गराउँछौं भनेका छैनौं 



पार्टीको आन्तरिक विवादकाबीच जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह नेपाल अहिले सरकारमा सहभागी भएको छ । संविधान संशोधन, रेशम चौधरीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्‍दै आएको जसपाको महन्थ ठाकुर समूह सरकारमा सहभागी हुनेवित्तिकै बोलि फेरेको छ । 

जसपाको ठाकुर समूहबाट खानेपानी तथा सरसाफई मन्त्री बनेका अनिल झाले रेशम चौधरीको रिहाइका लागि आफूले कहिले पनि नबोलेको बताएका छन् । उनले प्राइम टेलिभिजनको जनता जान्‍न चाहन्छ कार्यक्रमका सञ्‍चालक ऋषि धमलासँग कुरा गर्दै आफूले कहिल्यै पनि रेशमलाई रिहाइ गराउँछु भन्‍ने अभिव्यक्ति नदिएको बताएका छन् । 

उनले भने, “रेशम चौधरीको रिहाइको विषयमा म अनिल झाले रिहाइ गराउँछु भनेर कहिल्यै भनेको थिएन । रेशम चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायल गरि दुई तहको अदालतले दोषी सावित गरेको छ । अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । त्यसमा अन्य व्यक्तिहरुको पनि नाम छ । त्यो मुद्दा दुई तहका अदालतले दोषी ठहर भएका व्यक्तिलाई कसैले पनि म रिहाइ गराइदिन्छु भन्‍नु हुँदैन । “

उनले सर्वोच्च अदालतले न्याय दियो दियो भने रेशम रिहा हुनसक्ने उल्लेख गरेका छन् । उनले संविधान संशोधनका विषयमा पनि आफूले चाहेर सम्भव नभएको बताएका छन् । उनले भने, “संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक हुन्छ । हाम्रो संख्या पुग्दैन । त्यसकारण सबै दल तयार हुनुभयो भने संविधान संशोधन हुनसक्छ ।”

मधेस तथा थारुहट मुद्दा फिर्ताका विषयमा उनले केही मुद्दाहरु फिर्ता भएको र लकडाउनका कारण अदालत बन्द भएकोले मुद्दा फिर्ता भएका व्यक्तिहरु रिहाइका केही ढिलो भएको बताएका छन् । 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार ११:०५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।