Logo

प्रमुख समाचार

व्यवस्थापनलाई धम्क्याएरै बैँकको खर्चमा अमेरिका पुगे अर्जुन खनिया



काठमाडौं । एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुनराज खनिया व्यवस्थापनलाई धम्क्याएरै अमेरिका पुगेको तथ्य बाहिरिएको छ।

चाकडी चाप्लुसी र महँगा उपहार बाँडेर नियामक निकाय नेपाल राष्ट्र बैंकका कर्मचारीलाई आफ्नो कब्जामा राख्दै आएका खनियाँले त्यसैका आडमा बैँक संचालक तथा व्यवस्थापनबाट जबर्जस्ती बजेट पास गराई अमेरिकाको २ महिने पारिवारिक भ्रमण गरेको भेटिएको हो।

तत्कालिन सीईओ रोशनकुमार न्यौपानेले गरेका वित्तीय अपराधको ढाकछोप गर्दै ‘फाइनान्सियाल पेनाल्टी’ नगराउन भूमिका खेलेका खनियाँले सोहि गुनको बदलामा आफ्नो अमेरिका भ्रमणको खर्च स्वीकृत गर्न दवाव दिएको न्यौपाने निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार खनियाँले आफ्नै ब्रिफिङले राष्ट्र बैंकले जरिवाना नगरेको र पुन: जुनसुकै समयमा कारबाही गराउन सक्ने हैसियत राख्ने भन्दै व्यक्तिगत तथा पारिवारिक भेटघाट भ्रमण खर्च समेत बैँकबाट स्वीकृत गराएका हुन्।

न्यौपानेले संचालकका नाममा खाता खोली प्रचलित नियमभन्दा बढी ब्याज दिएको, ग्राहकबाट नियमविपरित ब्याज अशुल गरेको, राष्ट्र बैंकको निर्देशनपछि ग्राहकलाई ब्याज फिर्ता गर्ने नाममा ग्राहकसँग मिलेर आन्तरिक अवैध लेनदेन गरेको, वित्तीय अनियमितता, पहुँचको दुरुपयोग र नियमनकारी निकायमाथि हस्तक्षेप गरेको भन्दै राष्ट्र बैंकले कारबाही स्वरूप नगद जरिवाना गराउने तयारी गरेको थियो। उक्त बिषय राष्ट्रबैंककै कर्मचारीले खनियाँमार्फत् लिक गरेपछि खनियाँले सीइओलाई सचेत गराई जरिवानाबाट बच्न सहयोग गरेका थिए। यधपी राष्ट्र बैंकका कर्मचारीको चाकडी गरेकै भरमा गम्भीर वित्तीय अपराधमा समेत उन्मुक्ति मिलिरहेको एनआईसी एशिया बैंकमाथि नयाँ नेतृत्वले पुन: सोहि अपराधमाथि छानविन गरी कारबाही गर्ने तयारी गरेको सूचना पाएपछि न्यौपानेले बैंक छोडिसकेका छन् ।

सोहि बिषय उठाउंदै खनियाँले आफ्नो पारिवारिक अमेरिका भ्रमणको खर्च जुटाईदिन बार्गेनिङ गरेको न्यौपानेका अतिविस्वासपात्र बताउँछन्। उनी भन्छन्, – ‘बैंकको वित्तीय अवस्था कमजोर छ भन्ने बुझेरै सरले उहाँको अमेरिका भ्रमण खर्च बैंकले गर्न नसक्ने अडान लिनुभएको थियो। उहाँका साना- तिना खर्च त बैंकले गर्दै आएकै थियो। अमेरिकाको खर्च झन्डै २० लाख आउने भएपछि सरले हुँदैन पनि भन्नुभएको थियो। तर, खनियाँ सरले जबर्जस्ती गर्नुभयो, नियामक निकायको डर देखाउनु भयो। त्यसैले बाध्यात्मक अवस्थामा उहाँको भ्रमण खर्च स्वीकृत गरिएको हो।”

उनका अनुसार बैंक वित्तीय संकटमा हुँदा समेत खनिया झन्डै २ महिना विदामा बसेका छन् भने उनको अमेरिकाको पारिवारिक भ्रमण खर्चमा बैंकले २० लाखभन्दा माथि खर्च गरेको छ। बैंकले उनको हवाई टिकटदेखि, बिमा, भ्रमणभत्ता लगायत उक्त समयअवधिको सम्पूर्ण खर्च बेहोरेको बताइएको छ।

बैंक आर्थिक संकटमा रहँदा यति ठुलो रकम व्यक्तिगत तथा पारिवारिक सयरका लागि लिएको, बैंककै खर्चमा करिब दुई महिनासम्म अमेरिका बसेर पर्केछि उक्त विदाको समयको समेत तलबभत्ता लिएको तथ्य सार्वजनिक भएसँगै उनीमाथि चौतर्फी आलोचना सुरु भएको छ। तर खनियाँले भने नियामकदेखि सरोकारवालाहरु सँग भने उक्त भ्रमण अफिसियल भएको र खर्च आफ्नो व्यक्तिगत भएको दावी गर्दै आएका छन्।

बैंकले यस्तो परिस्थितिमा पनि खनियाको हवाई टिकट, बिमा, भत्ता र अन्य खर्च गरी झण्डै २० लाख रुपैयाँ बेहोरेको बताइएको छ। यो खर्च बैंककै खाताबाट व्यावसायिक भ्रमण शीर्षकमा निकालिएको स्रोतको दाबी छ।

बैंक नेतृत्वको लापरबाही एवं संचालकको अनावश्यक हस्ताक्षेपले हाल एनआईसी एशिया बैंकको अवस्था नाजुक छ । नाफा गिरावट, ऋण असुली संकट, व्यवस्थापन अस्थिरता र कर्मचारी-कर्मचारीबीच असन्तुष्टि जस्ता समस्याले बैंक डुब्ने अवस्थामा पुगेका बेला बैंकका शीर्ष नेतृत्वले बैंककै स्रोतको दुरुपयोग गरी पारिवारिक भ्रमणमा अमेरिका पुगेको घटनाले बैंकभित्र व्यापक असन्तुष्टि देखिएको छ। खनियाँले बैंकभित्र रहेर अख्तियारको दुरुपयोग गरी आफ्ना श्रीमती तथा सालासालीको व्यक्तिगत प्रयोजनका लागि बैंकको सवारी साधन तथा चालकको चरम दुरुपयोग गरेको तथ्य बाहिरिएपछि बैंकभित्र उनको  कार्यव्यवहारसँगै नियतमाथि समेत प्रश्न उठिरहेको छ।

खनियाँको कार्यशैलीमाथि प्रश्न गर्दै बैंककोडिजिटल बैंकिङ विभागका एक कर्मचारी भन्छन्, -“पछिल्लो वित्तीय अवस्था औंल्याउँदै बैंकका जुनियर कर्मचारीले पाउने अतिआवश्यकिय सुविधा समेत काटिएको छ, तर उच्च व्यवस्थापनका अधिकारीहरुबाटै बैंकको स्रोत साधनको यो लेबलको दोहन हुनु अति लज्जास्पद बिषय हो।

धम्कीपछि सिइओले पठाए अमेरिका

स्रोतका अनुसार खनियाले पछिल्ला महिनामा आँफु पारिवारिक समस्यामा रहेको भन्दै बैंकको नियमित काममा उपस्थित हुन छाडेका थिए। उनले सोहि समयमा विवादमा रहेका न्यौपानेको दाहिने हात भएर बोर्डका विरुद् गई उनले बैंक छोड्ने चेतावनी मात्र दिएनन्, बैंकभित्र भएका गैरजिम्मेवार निर्णय र अनियमितता बारे राष्ट्र बैंक तथा अर्थमन्त्रालयमा समेत बताउने धम्कीसमेत दिएको स्रोत बताउँछ। त्यसपछि तत्कालीन सिईओ रोशन कुमार न्यौपानेले संस्थाभित्र विवाद झन् बढ्ने डर तथा गुन तिर्नकै लागि भएपनि खनियालाई बैंककै खर्चमा अमेरिकामा पठाउने निर्णय गरेपछि उनी २०८१ साल चैत १० गते अमेरिका उँडे। उनको अमेरिका भ्रमण खर्च बैँकले व्यहोर्ने निर्णय बोर्डबाट नभई सिईओको एकलौटी र  जबर्जस्तीबाट गरिएको बताइको छ। तर, यसरी बैंकको रकम व्यक्तिगत स्वार्थ र आन्तरिक विवाद समाधानका लागि प्रयोग हुनु संस्थागत सुशासन र पदीय मर्यादाको विरुद्दमा रहेको बैंक कर्मचारी युनियनको बुझाईछ।

उनले आफू अमेरिका पुगेको बिषय गुपचुप राखेका थिए। तर, उनले हालै सामाजिक संजालमा भिनाजुलाई जन्मदिनको सुभकामना भन्दै सार्वजनिक गरिएका अमेरिकाका तस्बिरले समेत उनी लामो समय पारिवारिक भ्रमणमा थिए भन्ने कुराको पुष्टी गरेको छ।

के छ कानुनी व्यवस्था ?

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि बैंकका कर्मचारी वा पदाधिकारीको विदेश भ्रमण ‘व्यावसायिक प्रयोजन’वा ‘तालिम, सेमिनार, वा आधिकारिक प्रतिनिधित्व’जस्ता स्पष्ट कारणमा मात्र गर्न पाइन्छ। त्यस्ता भ्रमणहरू बोर्डको स्वीकृति र सम्पूर्ण खर्चको विवरणसहित पारदर्शी ढंगले प्रस्तुत गर्नुपर्ने प्रावधान छ। तर, खनियाको पारिवारिक अमेरिका भ्रमण न त बोर्डबाट स्वीकृत थियो, न त कुनै कार्यक्रम वा सम्मेलनमा सहभागिताका लागि थियो । तर, बैंकका आन्तरिक लेखा प्रणालीमा भ्रमणको कारण अफिसियल मिटिङ लेखिएको छ, तर वास्तविकता पारिवारिक भेटघाट भएको पुष्टि भएको छ। खनियाको अमेरिका भ्रमणले संस्थाका कर्मचारीको नैतिक आचरण र पारदर्शितामाथि थप प्रश्न उठाएको छ।

यदी व्यक्तिगत एवं पारिवारिक भ्रमण खर्चलाई व्यावसायिक शीर्षकमा भुक्तानी गरिएको छ भने उक्त बिषय बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन वाफिया २०७३ अन्तर्गत ‘अनियमित आर्थिक निर्णय’ भित्र पर्ने र लाभ लिने/ दिने दुबैलाई कारबाही हुने कानुन व्यवसायी सागर ढकाल बताउँछन्। उनी भन्छन्,-‘ बैंकका कर्मचारीको व्यक्तिगत भ्रमण खर्च यदि बैंकको स्रोतबाट भएको हो भने यो सरासर वित्तीय अपराध हो, बैंकका शेयरधनी, ग्राहक र नियामक निकाय सबैका लागि अपमानजनक बिषय हो। आर्थिक संकटमा डुबेको बैंकका अधिकारीलेनै यस्तो विलासिता सेवासुविधाको उपभोग गर्नु अनैतिक मात्र होइन, कानूनी रूपमा दण्डनीय छ।’

यस सम्बन्धमा राष्ट्र बैंककै नियमन विभागका एक अधिकारीले खनियाँको उक्त भ्रमण उनको निजी भएको र खर्च पनि उनको स्वयमको भएको भनिएको र आँफुलाई पनि सोहि जानकारी भएको बताए। तर, यदि उनी बैंकको खर्चमा अमेरिका गएका हुन् भने सो घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने उनको भनाई छ।

यधपी बैंकले यस सम्बन्धमा भने कुनै औपचारिक एवं आधिकारिक धारणा सार्वजनिक गरेको छैन। बैंकको प्रमुख सूचना अधिकारी समेत रहेका सहायक सिईओ खनियाँले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

यो पनि

बैंकको गाडी ‘म्याडमको सवारी’,- एनआईसी एशियाका उच्च पदस्थको निर्लज्ज लुट

एनआईसी एशियाका सूचना अधिकारीको खतरनाक ट्रीक : ‘बैंक छोड्ने धम्की दिँदै, प्रमोशन लिँदै’

एनआईसी एशिया बैँकका रिकोभरी हेडलाई कर्मचारीको प्रश्न,-‘तिम्रा घरमा श्रीमती छैनन् ?’

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार १३:४९   :  बजे

1.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।